इजरायली प्रधानमन्त्री नेतन्याहू अमेरिका भ्रमणको क्रममा वासिङ्टन पुगे

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू अमेरिका भ्रमणको क्रममा वासिङ्टन आइपुगेका छन् । नेतान्याहूले मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ । नेतन्याहूलाई भेट्नुअघि ट्रम्पले गाजामा शान्तिको कुनै ग्यारेन्टी नभएको बताएका छन् ।
नेतान्याहूले आफ्नो गठबन्धनका दक्षिणपन्थी गुटहरूबाट पनि भारी दबाबको सामना गरिरहेको समयमा ट्रम्पको यो अभिव्यक्ति आएको हो । दक्षिणपन्थी गुटहरूले गाजामा युद्धविराम अन्त्य गर्न माग गरिरहेका छन् । ट्रम्प र नेतान्याहूबीचको भेटमा इजरायल र साउदी अरेबियाबीच सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे पनि छलफल हुन सक्ने बताइएको छ ।
यसका साथै, बन्धकहरूलाई रिहा गर्ने सम्झौताको दोस्रो चरणलाई अन्तिम रूप दिनेबारे पनि वार्ता हुन सक्ने भनिएको छ । इजरायलमा नेतान्याहूको लोकप्रियता निरन्तर घट्दै गएको बेला उनी अमेरिका भ्रमणमा निस्किएका छन् । पश्चिम एसिया मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधिले गाजामा युद्ध विराम सम्झौताको दोस्रो चरणमा वार्ता सुरु गरिसकेका छन् ।
तर इजरायलमा धेरै मानिसहरू हमाससँग शान्ति सम्झौताको पक्षमा छैनन् । हमास पूर्ण रूपमा स्वतन्त्र नभएसम्म कुनै पनि शान्ति सम्झौता हुनु नहुने र यो युद्ध रोकिनु नहुनेमा उनीहरूको विश्वास छ । युद्धविराम वार्ता जारी रहेमा सरकारबाट समर्थन फिर्ता लिने नेतन्याहू सरकारका सहयोगीहरूले चेतावनी दिएका छन् । दोस्रो चरणमा गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता हुन सक्ने बताइएको छ । बन्धक बनाइएकाहरूका परिवारले सरकारलाई सम्झौताको लागि दबाब दिइरहेका छन् ।