अमेरिकी राष्ट्रपति ट्रम्पले गरे यूएसएआईडीका कर्मचारी निलम्बन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई निलम्बन गरेका छन् । राष्ट्रपति ट्रम्पले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीलाई निलम्बित गरेका हुन् ।
निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो । डिपार्टमेन्टका कर्मचारीले सिस्टममा पहुँच दिन आग्रह गरे पनि यूएसएआईडीका अधिकारीहरूले अनुमति दिन नमानेपछि विवाद भएको हो ।
डिपार्टमेन्टका कर्मचारीहरूले यूएसएआईडीको मुख्यालयमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूले सिस्टममा पहुँच नदिए सुरक्षा अधिकारीलाई बोलाउने धम्कीसमेत दिएका थिए । विवादका बीच उनीहरू यूएसएआईडीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीहरू बिना अनुमति यूएसएआईडीको संवेदनशील स्थानहरूमा प्रवेश गरेको दाबी सीएनएनले गरेको छ । उनीहरूले नागरिकको गोप्य सूचना समेत संकलन गरेका थिए ।
यसैबीच, इलन मस्कले यूएसएआईडी एक आपराधिक संगठन भएकाले बन्द गर्ने समय आइसकेको बताएका छन् । अहिले यूएसएआईडीको वेबसाइड बन्द गरिएको छ । यूएसएआईडीको आधिकारी वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टहरू बन्द गरिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा शपथ लिएपछि विदेशमा जाने सबैप्रकारका सहायता ९० दिनका लागि रोक्ने आदेश दिएका थिए । उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।