एनसेल पाँचौँ टाइगर कपको उपाधि आयोजक टाइगर ग्रुपलाई

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलोपटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो ।
पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५-१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलोपटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित भएको एपीएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो । अब पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।