स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक संख्या यकिन गर्न सर्वेक्षणको तयारी

काठमाडौं । सरकारले स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक संख्या यकिन गर्न सर्वेक्षण गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मै यस्तो सर्वेक्षण गर्ने गरी बजेट विनियोजन गरेको छ ।
बोर्डले उक्त प्रयोजनमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । बोर्डका अनुसार भन्सार विभाग र अन्य सरोकारवाला निकायसँग समन्वय गरी नेपाल भित्रिने भारतीय सवारीसाधन अध्ययन गरी पर्यटक तथ्यांक यकिन गर्ने तयारी छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी यो कामलाई ‘टुरिज्म स्याटलाइट अकाउन्ट’ (टीएसए) निर्माणभित्रको एक कदम रहेको बताए ।
नेपालले अहिलेसम्म हवाई जहाज चढेर आउने भारतीयलाई मात्र पर्यटक मान्दै आएको छ । तर, पछिल्लो समय स्थलमार्गबाट समेत खर्चालु पर्यटक आउने क्रम बढिरहेको छ । पोखरा, सौराहा र नेपालको तराई भेगका सहरका होटलका भरपर्दा पाहुना अहिले भारतीय नागरिक बनेका छन् । सोही सन्दर्भमा बोर्डले यस्तो संख्या यकिन गर्ने गरी कार्यक्रम बनाएको जनाएको छ ।
यातायात व्यवस्था विभाग, भन्सार विभाग, अध्यागमन कार्यालय सहित निकायबाट यस्ता सवारीसाधन र यसमा भित्रिने पर्यटक संख्या यकिन गर्ने बोर्डको तयारी छ ।