एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइजको शानदार जित

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले हिमलायन शेर्पालाई ४-१ ले हराएको हो ।
जितसँगै चर्च ब्वाइजले पाँच खेलबाट १२ अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट एक अंक छ । चर्च ब्वाइजलाई जित दिलाउन आशिक स्याङतानले दुई र सुशन थापामगरले एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
हिमालयन शेर्पाका लागि शिव नेपालीले गोल गरे । खेलको १० औं मिनेटमा प्रदीप खत्रीबाट आत्मघाती गोल हुँदा चर्च ब्वाइजले सुरुआती अग्रता लियो । ३० औं मिनेटमा सुशनले टोलीको अग्रता दोब्बर बनाए । ४९औं मिनेटमा आशिकले गोल गर्दा चर्च ब्वाइज ३-० ले अगाडि बढ्यो ।
पाँच मिनेटपछि शिवले हिमालयन शेर्पाका लागि गोल फर्काए । इन्जुरी समयमा आशिकले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ४–१ को सहज जित दिलाएका हुन् ।