sevenstartv.com ७ फागुन २०८१, बुधवार

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने शिक्षा मन्त्रालयको तयारी

२५ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका बनाइरहेको मन्त्रालयले यही महिनाभित्रमा अनुगमन थाल्ने जनाएको हो । 

शिक्षामन्त्री विद्या भट्टराईले त्यस्ता कलेजको यही महिनाभित्रमा अनुगमन थालिने बताएकी छन् । हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ५९ वटा कलेज सञ्चालनमा छन् । तीमध्ये १४ वटा कलेजले मात्रै तोकेको मापदण्ड पूरा गरेको मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनले औंल्याएको थियो । मापदण्ड पूरा नगरेका कलेजहरूलाई मापदण्ड पूरा गर्नका लागि निश्चित समय दिन समेत कार्यदलले सुझाव दिएको थियो । 

कार्यदलले दिएको सुझावका आधारमा निर्देशिका बनाउने काम भइरहेको र माघको पहिलो हप्ताभित्रमा निर्देशिका बन्ने मन्त्री भट्टराइको भनाइ छ । निर्देशिका अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री भट्टराईले मागको पहिला हप्तामा निर्देशिका आउने र त्यसले नियमन गर्न सजिलो हुने जानकारी दिइन् । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले ती कलेजबारे अध्ययन गर्न कार्यदल बनाएकी थिइन् । 

पूर्व सचिव शंकर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । कार्यदलले समेत आवश्यक ऐन कानुन बनाएर नियमन गर्नुपर्ने सुझाव पेस गरेको थियो । सोही आधारमा मन्त्रालयले निर्देशिका बनाउन लागेको हो । हाल ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ को भरमा सञ्चालनमा छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्