औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् ।
सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिन्थ्यो) मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई ।’ मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै भारत-अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन आपसी सहयोग अभिवृघि गर्न आफू उत्सुक रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘आउनुहोस्, मिलेर आफ्ना नागरिकको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ ।’ डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै चुनावमा आफूले जित हासिल गरेको जनाएका छन् । तर उनको जितबारे आधिकारिक घोषणा भने भइसकेको छैन ।