उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ । बैठक कात्तिक २४ गते शनिबार केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको जनाइएको छ । एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको बताइएको छ ।
एमालले नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ । महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने छ ।