अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान : ट्रम्प र ह्यारिसमा कसले मार्ला बाजी ?
काठमाडौं । नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । अमेरिकामा हुने निर्वाचन विश्वकै लागि चासोको विषय बनेको छ । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले र रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प मध्ये कसले ह्वाईट हाउसको प्रवेश पाउलान ? यो विषयमा विभिन्न टिकाटिप्पणी र विश्लेषण भईरहेको छ । अक्टोबर २० देखि २२ सम्म भएको अर्ली भोटिङको सर्वेक्षणमा भने ह्यारिस अगाडि छिन् । यद्यपी वास्तविक मतदान भोलि मात्रै हुने हुँदा कसले बाजि मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ ।
मंगलबार अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । अमेरिकामा हुने यस निर्वाचनबारे संसारभर चासो छ । कूल ५ सय ३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २ सय ७० इलेक्ट्रोल आवश्यक छ । विगतमा मत दिइरहेका राज्यहरूको मत यथावतै रहँदै अहिलेको मत सर्वेक्षण अनुसार सबै हुने हो भने कूल मतदानमा ह्यारिसको पकड देखिए पनि इलेक्ट्रोल मतमा ट्रम्प अघि रहन सक्ने छन् । यस निर्वाचनलाई लिएर बारम्बार सर्वेक्षण भएका छन् । सर्वेक्षणमा समय समयमा केही ट्विस्ट देखिएको छ । जुलाई महिनामा डेमोक्र्याट उम्मेदवार तथा वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी त्याग गर्दा ट्रम्प अघि थिए । त्यसपछि भएको सर्वेक्षणमा ह्यारिस अघि देखिएकी छिन् ।
परन्तु, अहिले दुवै बराबरको अवस्थामा छन् । एआईको आधारमा तयार गरिएको एउटा आँकडा अनुसार ८५ प्रतिशतले धेरैअघि मतदान दिने व्यक्ति तय गरेका थिए । बाँकी १५ प्रतिशत बीचमै अहिले उथलपुथल भएको छ । अहिले सम्मको अवस्थामा २ प्रतिशतले मात्रै निर्णय गर्न बाँकी छ । निर्णय गरेकामध्ये ९ प्रतिशतको सम्भावना मत फेरिन पनि सक्ने छ । मत दिने निर्णय गरिसकेका मध्य ७० प्रतिशत निर्वाचनमा सरिक हुन उत्सुक छन् । मत दिने निर्णय बाँकीमध्ये २७ प्रतिशतको मात्रै रुचि छ । अन्यमा खासै उत्साह छैन ।
अमेरिकामा अर्ली भोटिङको व्यवस्था पनि छ । अहिलेसम्मका मतदानमा ह्यारिस अगाडि छिन् । २० देखि २२ अक्टोबरबीचमा भएको सर्वेक्षण अनुसार त्यस समयमा २० प्रतिशतले मतदान गरिसकेका थिए । यसरी गरिएका मतदानको ६१ प्रतिशत ह्यारिस तथा ३६ प्रतिशत मात्र ट्रम्पको पक्षमा थिए । मतदान बाँकी रहेकामध्ये ५० प्रतिशत ट्रम्पको पक्षमा तथा ४४ प्रतिशत ह्यारिसको पक्षमा थिए । अहिले मत दिने धेरैमा बाइडेन प्रशासनप्रति गुनासो छ । ट्रम्पको विगतप्रति पनि आकर्षण छैन । धेरै अमेरिकीको गुनासो आर्थिक अवस्थाकै कारण हो । ४९ प्रतिशले गत वर्ष भन्दा यस वर्ष आर्थिक अवस्था खराब रहेको बताइरहेका छन् । १६ प्रतिशत मात्रै यस वर्षको आर्थिक अवस्थाबाट खुसी छन् । गत वर्ष निराशा ४१ प्रतिशतमा थियो भने २२ प्रतिशतमा उत्साह थियो । तसर्थ बाइडेन प्रशासनप्रति अमेरिकी खुसी हुन सकिरहेका छैनन् ।
अहिले अमेरिकामा मतदाताले उम्मेदवारलाई हेर्ने दृष्टिकोणभन्दा बढी विपक्षीप्रतिको नकारात्मक दृष्टिकोण बनेको छ । ह्यारिसलाई मतदान गर्नेहरू उनकै कारणले ५५ प्रतिशत तथा अन्य ट्रम्पप्रति नकारात्मक भएको जनाइन्छ । त्यसो त ट्रम्पलाई मतदान गर्नेहरू ७३ प्रतिशत उनकै समर्थक भएका कारण २७ प्रतिशत ह्यारिसप्रति नकारात्मक भएको कारण जनाउँछन् । ४३ प्रतिशतले ह्यारिस आम मानिसबारे ख्याल राख्ने ठहर गरेका छन् । ट्रम्पप्रति उक्त विश्वास राख्नेको मत ३७ प्रतिशत मात्रै छ । ४१ प्रतिशतले ह्यारिसलाई विश्वास गर्नलायक ठानेका छन् । ट्रम्पप्रति यस्तो दृष्टिकोण राख्नेको मत २९ प्रतिशत मात्रै छ । राष्ट्रबारे ध्यान दिने सवालमा ह्यारिसप्रति ४५ प्रतिशत छ भने ट्रम्पप्रति ३९ प्रतिशत छ ।