छठ पर्वका लागि पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात
काठमाडौं । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाइने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिनुभयो ।
जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको हो । फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउने गरेको छ ।
प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ । नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरूले बताएका छन ।