अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
काठमाडौं । सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा मंसिर १ बाट लागू हुने गरि बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
पौडेलले मन्त्रालयमा पद बहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति रहेको बतायएको छ ।
नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारकका रूपमा रहेको छ । त्यसमध्ये पनि ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।