गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौं । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।
आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौं लगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।
बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरूको सहभागिता हुने जनाइएको छ ।
भूकम्प र ज्यान गुमाएकाहरूको स्मृतिमा निर्माण गरिएको स्मृति उद्यानको काम पूरा नभएको र पहिराले क्षतिको जोखिम बढाएकाले आज सो विषयमा समेत मन्त्रीहरूसँग छलफल र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट हुने क्षति न्यूनीकरणका विषयमा दुईदिने कार्यशाला आयोजना गरेको छ । भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौंबाट ८० किलोमिटर उत्तर-पश्चिममा पर्छ ।
यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।
यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।
भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२:३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः वैशाख १३ गते सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्यो ।
भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स-साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो । त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।
यस्तो थियो क्षति
विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । त्यो भूकम्पबाट आठ हजार नौ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले तथ्यांक छ । मृत्यु भएका मध्ये ९८ दशमलव सात प्रतिशत अतिप्रभावित जिल्लाका नागरिकहरू छन् ।
छपन्न प्रतिशत महिला परेका छन् । एक सय ९५ जना बेपत्ता रहे । उक्त भूकम्पमा २२ हजार तीन सय दुई जना घाइते भएको तथ्यांकमा उल्लेख छ ।
कुल ८ लाख बढी निजी आवास, आठ हजार जति विद्यालय, करिब नौ सय २० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर-भवन र निजी घर भत्किँदा करिब रु सात खर्ब छ अर्ब बराबरको क्षति भएको तथ्यांक छ ।
सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी त्यसमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य करिब-करिब सकेको थियो । बाँकी भएका काम सम्बन्धित मन्त्रालयलाई जिम्मा दिएर प्राधिकरण गएको थियो ।
भूकम्प हरेक वर्ष गइरहन्छ तर महसुस नगरेका चार म्याग्निच्युटभन्दा तलका भूकम्पको विवरण सार्वजनिक हुने गरेको छैन । -रासस
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...