ऐतिहासिक कुवाको जल ४० वर्षपछि बज्रवाराही माईलाई


सुभानु आचार्य
ललितपुर/ ४ माघ, गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा अवस्थित बज्रवाराही मन्दिर परिसरको ऐतिहासिक कुवाको जल अब दैनिक रुपमा देवीलाई अर्पण गरिने भएको छ ।
यही माघ १ गतेदेखि ८ गते आईतबारसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञबाट उठेको रकमबाट अक्षयकोष खडा गरी दैनिक नित्य पूजा सञ्चालन गर्ने र करिव ४० वर्षपछि देवीलाई पुनः सो कुवाको जल लगेर दैनिक रुपमा अर्पण गर्ने तयारी बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिले गरिरहेको छ ।
मन्दिर प्राङ्गणमा रहेको सो कुवाको जल दैनिक रुपमा देवीलाई अर्पण गरी नित्य पूजा गर्ने चलन थियो । ४० वर्षदेखि सो काम रोकिरहेको बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यले बताए। उनले भने, “कुवा संरक्षणमा कसैको ध्यान नगएपछि यो धार्मिक काम रोकिरहेको छ । अब महायज्ञपछि हामीले पुनः कुवाबाट जल लगेर बज्रवाराही देवीलाई चढाउने वातावरण तयार गर्नेछाैँ।” हाल सो देवी मन्दिरमा उक्त कुवाको जल ल्याएर चढाउने चलन नरहँदा कुवा संरक्षणमा सम्बन्धित निकायको समेत ध्यान पुग्न जरुरी देखिएको कर्माचार्यले गुनासो गरे ।
गत पुस २९ गते चार भाई मिलेर कुवामा क्षमापूजा गरी सफा गरेको सप्ताह मूल आयोजक समितिका कोषाध्यक्ष दिपेन्द्र देशारले बताए । उनले भने, “हामीले सुने अनुसार पहिला बज्रवाराही देवीले यस कुवामा आएर दैनिक स्नान गर्नु हुन्थ्यो रे ! यस ‘आगल’ नामक कुवाको पानी भने बाहै महिना सुक्दैन । ” आफूहरु केटाकेटी रहँदा सो कुवा मुनि रहेको धाराको पानी दैनिक घरायसी प्रयोजनका लागि लाने गरेको र नुहाउने समेत गर्ने गरेको देशारले जानकारी गराए । धेरै वर्ष पहिला चापागाउँ हुँदै झरुवावासी समेतले यस कुवाको पानी पिउने तथा दैनिक प्रयोग गर्ने गर्थे । पछि यस कुवाको पानी प्रयोग गर्ने चलन किन हरायो थाहा भएन”, उनले थपे ।
सप्ताह महायज्ञ सुरु हुनु भन्दा धेरै पहिले आफूले एक दिन सो कुवा सफा गरी देवीलाई नित्य जल अर्पण गर्ने व्यवस्था मिलाउछु भनेर लाग्दा बिरामी परेको बज्रवाराही नित्य भजन मण्डलका कोषाध्यक्ष पूर्ण देशारले सुनाए । उनले भने, “मैले पहिला देवीको क्षमपूजा आदि गरेर कुवा सफा गर्नुपर्ने रहेछ । सो काम गरिन त्यसैले होला मलाई सहनै नसक्ने गरी जिउ पोल्ने तथा हातखुट्टा बेसरी झमझमाउने समस्या देखिएपछि मैले त्यस काममा पुनः हात हालिन ।”
बज्रवाराही देवीको नित्य पूजा विगत ३० वषेदेखि रोकिएको र देवीलाई सो धार्मिक कुवाको जल अर्पण गर्ने काम समेत वितग ४० वर्षदेखि रोकिरहेको कुरा सुनेपछि सो कामलाई निरन्तरता दिनुपर्छ भनी आफूहरु मन्दिरमा सप्ताह महायज्ञ लगाउन अघि बढेको महालक्ष्मी नगरपालिका निवासी तथा समितिका प्रमुख सल्लाहकार विश्वनाथ न्याैपानेले बताए । उनले भने, “विगत लामो समयदेखि रोकिएका यी कामहरु पुनः सञ्चालन गराउन सक्यौँ भने मन्दिर व्यवस्थापनामा विशेष ख्याल पुग्ने छ ।” विगतमा कर्माचार्य थरका मानिसले सो नित्य पूजा गर्ने गरेका र मन्दिरको नाममा भएका जग्गा हराएपछि सो काम रोकिएको न्यौँपानेको भनाइ छ ।
काठमाडौं उपत्यकाको चार वाराही स्वेत, नील, धुम्वाराहीमध्ये बज्रवाराही भने खुबै नाम चलेकी देवी हुन । सो मन्दिर नेपालमा गजुर नभएको मन्दिरको नाममा पनि प्रख्यात रहेको छ ।
बज्रवाराहीदेवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा रहेको छ । नेपाल संवत ७१९ मा श्रराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेका र पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका कुरा अध्यक्ष कर्मार्चायले जानकारी गराए । उनले भने, “यस देवीको मन्दिर नेपाल सम्वत ८५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गर्नुभएको कुरा सुन्न पाइन्छ ।”
भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ । उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन् । सिपाहीहरु डराएर फर्केछन् । ‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ । त्यसैले हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ ।
मन्दिरमा आयोजना भइरहेको सप्ताह महायज्ञ श्रवण गर्न दैनिक पाँच देखि सात सय भक्तजन भित्रिरहेका सप्ताह प्रचार विभाग प्रमुख बलराम वाग्लेले बताए ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...