आजका प्रमुख सात समाचार
काठमाडौं ।
बंगलादेश आन्दोलन असर
बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपालमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सतर्कता बढाएको छ ।
सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको थियो ।
बंगलादेशमा चर्कीएको आन्दोलनका कारण नेपाल र बंगलादेशको व्यापारमा पनि असर पार्दा मालबाहक सयौं सवारी बिच बाटोमा अलपत्र परेका छन । यसैबीच, सरकार गठनको आह्वान गरेको बंगलादेशको सैनिकले ढाका अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द गरेको छ ।
सुदूर मुख्यमन्त्री शपथ
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन् ।
यस्तै, नवनियुक्त मन्त्रीहरु कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्रीको सपथ लिए ।
त्यस्तै, बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिए ।
कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छन् ।
कर्णाली विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।
४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भएनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्यो ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका हुन् । मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद हुनुहुछ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।
प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई द्रुतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् ।
सोमबार सोही द्रतुमार्गअन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका हुन् ।
उनले खोकनाको जग्गामा राजनीतिमा मात्रै नभई अरु नै चिज पनि मिसिएको दाबी गरे । ब्रेक थ्रू कार्यक्रममै सम्बोधन गर्ने क्रममा प्रधानसेनापति प्रभुराम शर्माले खोकनाको जग्गामा राजनीति भइरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केही भइरहेको छैन भने स्थापित गर्न खोजिएको विषयलाई यस्ता कामले खण्डन गर्ने पनि जिकिर गरे । उनले नयाँ काम सुरु गर्ने भन्दा पनि भइरहेको कामलाई पूरा गर्नुपर्नेतिर जोड दिए ।
कांग्रेस पदाधिकारी
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रिय कार्यसमिति बैठकका एजेण्डाहरुको सम्बन्धमा छलफल भएको छ ।
सोमबार पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले आगामी साउन २३ गतेबाट हुने काँग्रेस केन्द्रिय कार्यसमिति बैठकको एजेण्डाहरुको सम्बन्धमा छलफल भएको हो ।
पदाधिकारी बैठकमा अगामी केन्द्रिय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रश्ताव गर्नुभएको राजनीतिक प्रश्ताव, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रिय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उनले बताए ।
उनले सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लाने कुरामा केन्द्रिय कार्यसमिति बैठक केन्द्रीत हुने बताए ।
न्यूनतम साझा कार्यक्रम
नेपाली काँग्रेसका सांसदहरुले वर्तमान सरकारले न्युनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।
संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेस सांसदहरुले सरकारले न्युनतम साझा कार्यक्रम बनाएर सोही अनुरुप सरकार सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
उनीहरुले दुई वा दुई भन्दा बढी दलहरु सम्मिलित सरकारमा न्युनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्युनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्यगरी न्युनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्युनतम साझा कार्यक्रम काँग्रेस र एमालेका बीचमा भएको सात बुँदे सहमतीको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए ।
उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए । सरकारले सुशासनमा केन्द्रीत भएर न्युनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे ।
सांसद केसीले आर्थिक क्षेत्र धराशयी भएको भन्दै आर्थिक क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।
नेपालको जीत
काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ ।
माल्दिभ्सले भने एक अङ्क पनि नजोडी प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ ।
भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा मंगलबार दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । काभा महिला भलिबल लिगको फाइनल खेल बुधवार बेलुकी ५ बजे शुरू हुनेछ ।