सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले आज एक कार्यक्रमकाबीच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ ग्रहण गरेका हुन् । कांग्रेसबाट आर्थिक मामिला मन्त्री बनेका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री शाहले एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी निर्मला साउँद, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री शाहको १० सदस्य मन्त्रीमण्डल बनेको हो ।