sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

कास्कीमा ६४९ नयाँ उद्योग थपिए

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कास्कीमा गत एक वर्षमा ६४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । 

नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको जनाइएको छ । पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग २४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग १६२, पर्यटन उद्योग १६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित तीन उद्योग दर्ता भएका छन् ।

गत वर्ष ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला ९३९ र पुरुष एक हजार ११८ गरी दुई हजार ५७ जनाले रोजगारी पाएका छन् ।  ३६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनी वृद्धि भएको छ ।  थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् ।

कार्यालयका अनुसार जिल्लामा विदेशबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार ८३२ वटा खारेज भई १८ हजार ४४६ सञ्चालनमा छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्