दुध किसानलाई १ खर्ब ३० करोड भुक्तानी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्री अधिकारीले सरकार दुध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताएका हुन् । उनले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ५८ करोड रुपैयाँलाई घटाएर ५६ करोड बाँकी रहेको बताए ।
उनले कर्मचारीलाई उपदान दिनुपर्ने ८ करोड ३८ लाख, कर्मचारी तलव ४ करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उपदान दिनुपर्ने ७ करोड २४ लाख, कर्मचारी तलव १ करोड ७ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी ३ करोड ९४ लाख बाँकी रहेको बताएका छन् ।
उनले सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको बताए । उनले भोलिसम्म उखुको समर्थन मूल्य सार्वजनिक हुने बताएका छन् ।