'उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन'
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत महसुल बक्यौता नतिर्ने उद्योगीका घरमा जोडिएको लाइन काट्ने निर्देशन जारी नभएको जनाएको छ ।
कतिपय मिडिया र सामाजिक सञ्जालमा बक्यौता नतिर्ने उद्योगीका घरमै लाइन काट्न सक्ने भन्ने खबरहरू सार्वजनिक भएसँगै प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार, प्राधिकरणको नियमावलीमा नै सरकारी बाँकी बक्यौता सरह असुल उपर गरिने व्यवस्था रहेको छ ।
तर, त्यसका लागि विद्युत् नियमन आयोगको समेत रायका आधारमा निर्णय हुनेछ । महसुल बक्यौता नतिरेको खण्डमा उद्योगीका घरमा जोडिएको लाइन काट्ने व्यवस्था भने रहेको उनको भनाइ छ । हालसम्म प्राधिकरणले कुनै पनि उद्योगीको घरमा विद्युत् लाइन नकाटेको उनको दाबी छ ।
प्रवक्ता घोषले अहिलेसम्म महसुल बक्यौता नतिर्ने उद्योगीका घरको लाइन काट्ने निर्देशन जारी नभएको समेत बताए । प्राधिकरणले महसुल बक्यौता तिर्न यसअघि १५ दिनको म्याद दिएको थियो ।
उक्त म्याद बुधबार सकिए पनि उद्योगको लाइन काट्ने निर्णय भने भएन । विद्युत् नियमन आयोगले पनि उद्योगको लाइन नकाटेर महसुल बक्यौता उठाउन निर्देशन दिइसकेको छ ।