दोस्रो एक दिवसीय खेलमा न्युजिल्याण्डमाथि श्रीलंका तीन विकेटले विजयी
काठमाडौं । घरेलु मैदानमा श्रीलंकाले न्युजिल्याण्डसँगको दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित हात पारेको छ । आइतबार पालेकेलको घरेलु मैदानमा भएको दिवारात्री खेलमा न्युजिल्यान्डले दिएको २ सय १० रनको लक्ष्य श्रीलङ्काले १ ओभर बाँकी रहँदा ७ विकेटको क्षतिमा पुरा गरेको हो ।
वर्षाका कारण खेल ४७ ओभरमा घटाइएको थियो । श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ७४ रन जोडे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । यसैगरी पाथुन निसान्काले २८ रन जोडे । बलर हाबी भएको खेलमा नवौँ क्रममा मोबिस थक्सेनाले २८ रनको योगदान गरे । न्युजिल्यान्डका माइकल ब्रेसवेलले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेट विकेट गुमाउँदै २०९ रन बनाएको थियो । श्रीलंकाका मार्क चापम्यानले ७६ तथा माइकल हेले ४९ रन जोडे । श्रीलङ्काका महेश थक्सेनाले ९.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए । जेफ्री भन्डर्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए ।