sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुरू गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप लगाउने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१५ दिनसम्म चल्ने खोप अभियानमा देशभरका १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने उनले बताएका छन् । अहिले नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ ।

किशोरीहरूलाई खोप दिएमा क्यान्सरबाट जोगाउन प्रभावकारी हुने प्रवक्ता बुढाथोकीले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस वर्ष अभियान सञ्चालन गर्ने र अर्को वर्षदेखि नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गर्नुभएको छ । विज्ञहरूका अनुसार नेपालका महिलामा सबैभन्दा बढी अर्थात एक नम्बरमा पाठेघरको क्यान्सर पाइन्छ । दोस्रोमा ‘ब्रेस्ट’ क्यान्सर र तेस्रोमा पेटको क्यान्सर रहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्