स्थानीयसँग जुट्यो सहमति,मेलम्चीको पानी आजदेखि काठमाडौं आउँदै
काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए ।
मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ ।
‘हामी अहिले सिन्धुपाल्चोकमै छौं, मेलम्चीका स्थानीयसँग सहमति भइसकेको छ । पानी आज साँझसम्म काठमाडौंका धारामा झर्छ,’ मन्त्री यादवले भने ।
११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको छ । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।
आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची पुगेको थियो ।
हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।