आजका प्रमुख सात समाचार
काठमाडाैं ।
प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् । पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताएका हुन् ।
पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताएका छन् ।
विपदबाट क्षति
सरकारले दुई दिनभित्र विपद् प्रभावित व्यक्तिहरुको खोज तथा उद्धार कार्य सम्पन्न गरिसक्ने जनाएको छ । मुख्यसचिव एकनारायण अर्यालले बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य यथाशिघ्र सम्पन्न गर्ने पनि विज्ञप्तीमा समावेश गरिएको मुख्यसचिव अर्यालले बताए ।
सरकारले सो विपदका कारण करिव १७ अर्व क्षतिको अनुमान पनि गरेको छ । मुख्य सचिव अर्यालले हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्व ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्व र सिंचाई पूर्वाधारतर्फ १ अर्व, कृषि तथा पशुपंक्षितर्फ ६ अर्वको क्षति भएको अनुमान गरिएको बताए ।
कांग्रेसको माग
नेपाली कांग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेको बताका हुन् । उनहाँले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताए ।
उनले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताए । उनले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग, सडक, पुलहरु भत्किएको भन्दै खोजी, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताउनुभयो । उनले दशैँ तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताए । उनले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताए । उनले विपद्मा कालोबजारी, मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे ।
समिति निर्देशन
संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारलाई निर्देशन दिएको हो ।
थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ ।
ढोरपाटन मेयर
जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो ।
ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका देवकुमारलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका देवकुमारविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो । सोही मुद्दामा अदालतबाट गत वर्षको साउन ४ गते पक्राउ पुर्जी जारी भएका ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ ।।
नेप्से
शेयर बजार मंगलबार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ । मंगलबार सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
मंगलबार २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा मंगलबार ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
विद्यार्थीको मृत्यु
थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार दिउँसो बैंककको खु खोत क्षेत्रमा स्थलगत भ्रमण सकेर स्कुलतिर फर्कदै गरेको अबस्थामा बसमा आगलागी भएको हो । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
बसको टायर पड्किएर आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको रोयटर्सले जनाएको छ । बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ । थाइल्यान्ड सडक सुरक्षाको हिसाबले सबैभन्दा खराब देशमध्ये एक हो । यहाँ त्रुटिपूर्ण सवारी साधन र गलत तरिकाले सवारी साधन चलाउँदा बर्सेनि २० हजार दुर्घटना हुने गरेको छ ।