बाढीपहिरोबाट हालसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । २८ जना बेपत्ता छन् । गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।
धादिङ र ललितपुरमा ३९/३९ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ । बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ । ललितपुरमा ११ जना अझै बेपत्ता छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ । भक्तपुर,सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी-९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।