sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

आजका प्रमुख सात समाचार

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।

प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् । सोमबार संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिएर फर्किने क्रममा उनले सरकारले आफ्नो बुँताअनुसार उद्धार र राहतको काम गरेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतको काम गर्दागर्दै पनि विरोधका लागि विरोध गर्ने परिपाटी राम्रो नभएको पनि बताए । उनले विपद् जस्तो संवेदनशील बेलामा सबैले मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुने बताएका छन् । आफूले बाहिर बसेर पनि सो विपद्को सामना गर्नका लागि सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिने काम गरेको र सरकारले पनि सोही अनुसार काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो ।

उडान प्रभावित

अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ । यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ नोटाम जारी भएको थियो । 

सो समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको थियो । बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो । जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म ‘डिले’ भइरहेका थिए । त्यसमाथि प्रधानमन्त्रीको सवारीले उडान अझ प्रभावित बनेका हुन् ।

हवाई उद्धार

सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ । केन्द्रिय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल भएको छ । आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले बताए । उनका अनुसार समितिले रोशी खोलामा विपी राजमार्गमा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरुलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ । 

उनले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय समितिले गरेको बताए । उनले आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौंतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको बताएका छन् । उनले अन्य राजमार्गहरु पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी गराए । 

प्रधानन्यायाधीश उजुरी

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका हुन्  । 

त्यसैगरी बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवविरुद्ध पनि १÷१ वटा उजुरी परेको समितिले जनाएको छ । असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रश्तावित राउत र नेपाली राजदुतका लागि प्रस्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो । 

नागढुंगा सडक

नागढुङ्गा-मुग्लिन सडक एकतर्फी रुपमा सुचारु भएको छ । सोमबार अपरान्हसम्म काठमाडौं भित्रिने गाडीमात्रै सञ्चालन भएकोमा अहिले काठमाडौंबाट बाहिरिने गाडी पनि सञ्चालनमा आएका छन् । दिउँसो पौने ४ बजेदेखि गाडीलाई बाहिरिन पनि दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौं आउनका लागि चार दिनदेखि पालो कुरेका झन्डै १८ सय वटा गाडीलाई काठमाडौं भित्रिन दिएपछि बल्ल अहिले काठमाडौंबाट बाहिरिने गाडीका लागि सडक खुलाइएको प्रहरीले जनाएको छ । तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरो झरेकाले ठाउँठाउँमा सडक एकतर्फी मात्रै खुलेको छ । मुग्लिन नारायणगढ सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ र बन्दीपुर गाउँपालिका–१ मा सडक एकतर्फी सञ्चालन भएको छ । अझै पनि देशका धेरै ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छ ।

शेयर बजार

हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु सेलेक्ट फन्डको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से बढे पनि शेयर कारोबार रकम भने घटेको छ ।

एनपीएल अक्सन

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सन आगामी हप्ता हुने भएको छ । नेपाल क्रिकेट संघ९क्यान० ले असोज २० गते अक्सन हुने जनाएको छ । अक्सनका लागि खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गिकरण गरिने छ । क्यानले केहि दिन अगाडि खेलाडीलाई आफ्नो नाम दर्ताका लागि आव्हान गरेको थियो । टिममा समावेश हुने विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्नेछन् । 

पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गते सम्म आयोजना हुदैछ । एनपिएलमा ८ टोलीको मावेश हुदैछन् । सहभागी सबै टिमका मार्की खेलाडीको भने टुंगो लागिसकेको छ । यस्तै  सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ । सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्