अमेरिकामा आँधीका कारण सय जना भन्दा धेरैको मृत्यु
काठमाडौं । अमेरिकामा हेलेन नामको आँधीका कारण एक सय जना भन्दा धेरैको मृत्यु भएको छ । आँधीको हावा, वर्षा र बेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा एक सय जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।
आँधी तथा बाढी पहिरोले दर्जनौं पुल, सडक, बिजुली, सञ्चार संरचना लगायत ध्वस्त बनाएको छ । २७ लाख जना मानिस बिजुलीविहिन अवस्थामा छन् । टेलिफोन सम्पर्क नहुँदा सयौं मानिसले अझै पनि आफन्तसँग सम्पर्क गर्न सकेका छैनन् । खानेपानीको पनि अभाव भएको छ । बीमा कम्पनी र पूर्वानुमानकर्ताहरूले १५ अर्बदेखि एक सय अर्ब डलरसम्म क्षति भएको बताएका छन् ।
उत्तरी क्यारोलिनाका गभर्नर रोय कूपरले यो इतिहासकै ठूलो र विनाशकारी विपत्ति भएको बताउनुभएको छ । त्यहाँका मानिसहरूले यसअघि कहिल्यै पनि यस्तो विपत्ति नभोगेको उल्लेख गरेका छन् । १९ वटा राज्य र सङ्घीय सरकारका खोज तथा उद्धार टोलीहरू अहिले खटिएका छन् । केही सडकहरू मर्मत गर्न दुई महिनासम्म लाग्न सक्ने अनुमान छ । राष्ट्रपति जो बाइडेनले यस हप्ता प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बताएका छन् । प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरिएको र सहयोगलाई बढाइने उनले बताए ।