राष्ट्रिय महिला लिग : आजदेखि लिग चरणका अन्तिम खेल सुरु हुँदै
काठमाडौं । राष्ट्रिय महिला लिगमा आजदेखि लिगचरणका अन्तिम खेल सुरु हुने भएका छन् । आज पहिलो खेलमा चन्द्रपुर र वालिङ नगरपालिका तथा दोस्रो खेलमा कोशी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने छ । । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदैछ ।
खराब प्रदर्शनलाई निरन्तरता दिएको सुदूरपश्चिम पहिलो चरणबाटै बाहिरिसकेको छ । चन्द्रपुर, वालिङ र कोशी भने अन्तिम खेल जित्दै दोस्रो चरणमा पुग्ने योजनामा छन् । बागमतीले भने भोलि एपिएफसँग खेल्नेछ । यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । कोशी, चन्द्रपुर र वालिङ मध्ये दुई टोलीको टुंगो लाग्न बाँकी छ ।
२२ अंकसहित एपिएफ शीर्ष स्थानमा छ । आर्मीको १९ र पुलिसको १८ अंक छ। वालिङको १२, कोशीको ११ तथा बागमतीको १० अंक छ। संकटा र चन्द्रपुरको समान ८ अंक रहँदा कर्णालीको चार अंक छ। आठ खेलमा ६५ गोल बेहोरेको सुदूरपश्चिम पुछारमा छ ।