आज राष्ट्रिय शिक्षा दिवस
काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले यो वर्ष दिवसको आदर्श वाक्य ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ तय गरेको छ ।
दिवसकै अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल विद्याभूषण ‘क’ ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्र विद्यापदक ‘क’ र ‘ख’ तथा छात्रा पुरस्कारका लागि छनोट भएकाहरूको नामावली प्रकाशन गर्ने भएको छ । पदक र प्रमाणपत्र वितरणको कार्यक्रमको मिति पछि प्रकाशन गर्ने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भदौ १३ गते नै उक्त दिवसको दिन यो आदर्श वाक्यसहित मुलुकभर सप्ताहव्यापी रूपमा विविध रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस २०८१ मनाउने व्यवस्थाका लागि अनुरोध गरेको थियो ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको अवसर पारेर अघिल्लो वर्षदेखि प्रत्येक वर्ष असोज २ गतेका दिन शिक्षा दिवस मनाउन थालिएको हो ।